सप्तमी तिथि आइतवार भए पनि छठ पर्व सोमवारसम्म, नदी तथा जलाशय झकिझकाउ

 मंसिर २, २०८० शनिबार ७:४७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

जनकपुरधामको धनुष सागरमा छठ पूजाका लागि सजाइएको छठ घाट ।

काठमाण्डाै - सप्तमी तिथि भोलि भए पनि छठपर्व पर्सि सोमवारसम्मै मनाइने भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।

यो परम्पराअनुसार हिजो चतुर्थीदेखि छठपर्व शुरु भएको छ । यसपालि तिथिको घटबढका कारण आज पञ्चमी र षष्ठी तथा भोलि षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाउने तयारी भएको छ ।

भोलि सप्तमी तिथि भए पनि पर्सि सोमवार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले उज्यालोलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा रहेकाे गौरीघाटचोकबाट गुह्येश्वरी मन्दिरसम्म बाग्मती सफाइ गरी छठका लागि सजावटको तयारी गरिँदै । 

छठ पर्वको मुख्य दिन भोलि अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइन्छ । यसका लागि निराहार व्रत बसेका वर्तालुले भोलि रातभर छठ पूजास्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गर्छन् ।

छठ पर्वको दोस्रो दिन आज खरना गरिँदै छ । आजको दिन बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खिर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ ।

छठ पर्व शुरु भएसँगै तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । जलाशयमा बनाइएका आकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । मिथिला क्षेत्रका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् । काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ ।

सूर्यलाई अर्घ्य दिँदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा वर्तालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ । काठमाण्डौका नदी पोखरीमा पनि छठको तयारी भइरहेको छ ।

पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलिमिली बत्तीले उज्यालो बनाइएको छ । बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ । हरेक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत काठमाण्डौका अरु ठाउँमा पनि सजाउने गरिन्छ ।

यस वर्ष गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, नख्खु खोला, विष्णुमती र बाग्मती नदी तथा बल्खुखोला किनार लगायतका ठाउँमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ । यी ठाउँमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गर्न लागिएको छ ।

कमलपोखरीमा पनि सजावट गरी छठ घाट निर्माणलाई तीव्रता दिइएको छ । रानीपोखरीमा भने यस वर्ष पनि छठ पर्व नहुने भएको छ ।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया